काठमाडौं । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गरायो ।
धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनले भने ।
कर्णाली याक्सको टिम भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको हो । सम्झौतामा टिम मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो ।
धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी व्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए । ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णाली याक्स टिम नै खुसी छौं । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो’ खनालले भने, ‘धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभएर नेपाली क्रिकेट र नेपाली खेलाडीलाई फाइदा पुग्ने विश्वास छ ।’
भारतका लागि कार्यवहाक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवद्र्धनको लागि सुखद् सन्देश रहेको बताए । ‘शिखर धवनलाई भित्राउँदै पर्यटन प्रवद्र्धनमा कर्णाली याक्सले सुखद् सुरुवात गरेको छ,’ थापाले भने ।
३८ वर्षीय बायाँ हाते ओपनर धवनले भारतका लागि च्याम्पियन ट्रफी देखि एसिया कप जितेका छन् । यस्तै धवनले सनराइजर्स हैदरवादबाट इन्डियन प्रिमियर लिग (आईपीएल) समेत जितेका छन् ।
उनले भारतका लागि ३४ टेष्ट, १६७ ओडिआई र ६८ टी२० आई म्याच खेलेका छन् । टेष्टमा ७ शतक मद्तमा २ हजार ३१५ रन बनाएका धवनले ओडिआईमा ६ हजार ७९३ रन बनाएका छन् जसमा १७ शतक समावेश छ । यस्तै टी २०आईमा उनले ११ अर्धशतक मद्तमा १ हजार ७५९ रन बनाएका छन् ।
धवनले भारतका लागि पछिल्लो पटक सन् २०२१ मा श्रीलंका विरुद्ध टी२०आई म्याच खेलेका खेलेका थिए । यस्तै उनले भारतको राष्ट्रिय टिमका लागि पछिल्लो पटक सन् २०२२ डिसेम्बरमा बंगलादेशविरुद्ध ओडिआई म्याच खेलेका थिए । धवनले पछिल्लो सिजन पञ्जाव किंग्सबाट आईपीएल खेलेका थिए ।
धवनले आईपीएलमा पाँच फरक टिमबाट गरी कूल २२२ म्याच खेलेका छन् । जसमा उनले २ शतक सहित ६ हजार ७६९ रन बनाएका छन् । उनी आईपीएलमा सर्वाधिक रन बनाउनेमा विराट कोहली भन्दा मात्र पछि छन् ।
धनव आईपीएलमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी समेत हुन् । उनले सबैखाले टी२० गरी ३३४ खेल खेलेका छन् र त्यसमा ९ हजार ७९७ रन बनाएका छन् । जसमा उनले २ शतक समेत प्रहार गरेका छन् ।
शिखर धवनको अनुबन्धपछि कर्णाली याक्सको टिम अझ बलियो बनेको छ । कर्णालीले यसअघि नै पाकिस्तानका हुसेन तलात, वेष्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ ।















