विश्वकप छनोट गराउने युवा टोलीका यी तीन जना खेलाडीलाई सम्मान गरिने

Image

काठमाडौं । मधेस प्रदेश सरकारले आगामी वर्ष मलेसियामा हुने आइसीसी महिला यू–१९ टी–२० विश्वकपमा छनोट भएको नेपाली टीमका तीन जना खेलाडीलाई जनही १ लाख ५१ हजार पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ।

मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले महिला यू–१९ टीममा मधेस प्रदेशबाट रहेकी तीनजना खेलाडीलाई पुरस्कारसहित उनीहरुलाई सम्मान गर्ने घोषणा गरेका हुन्। यू–१९ महिला क्रिकेट टीममा मधेस प्रदेशबाट पुजा महतो, साना प्रविण र एलिशा कुमारी यादव रहेकी थिइन्।

यसअघि नेपाल क्रिकेट संघ क्यानले समेत बिहीबार विश्वकपको एसिया छनोटको विजेता बनेको नेपाली महिला टीमलाई जनही २ लाख ५० हजार नगद पुरस्कार घोषणा गरेको हो।

यू–१९ महिला क्रिकेट टोली पहिलो पटक आइसीसी महिला यू–१९ टी–२० विश्वकपमा छनोट भएको छ। जनवरी १८ देखि फ्रेबुअरी २, २०२५ सम्म मलेशियामा हुने प्रतियोगिताको समुह डी अन्तर्गत अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्डसँग नेपालले खेल्ने तालिका रहेको छ।

यस्तै, यहि डिसेम्बर १५ देखि १८, सम्म मलेशियामै आयोजना हुने यू–१९ एसिया कपमा नेपाल समुह चरणको खेल भारत र पाकिस्तानसँग खेल्ने छ।