काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १३८ रन बनाएको हो।
पहिलो जितको खोजीमा रहेको पोखराले जनकपुरलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको योगफल तयार पारेको हो।
ओपनर आन्द्रस गौसले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । चौथो ओभरको अन्तिम बलमा ललित राजवंशीद्वारा गौस आउट भए । छक्का प्रहार गरे लगत्तैको अर्को बलमा फेरी छक्काको प्रयास गरेका गौस बाउन्ड्रिमा जनकपुरका मार्की खेलाडी आसिफ शेखबाट क्याच आउट भए ।
माइकल लिस्कले १३ बलमा ३ छक्काको सहयोगमा २५ रन जोडे । लिस्क इनिङको अन्तिम ओभरमा किशोर महतोको बलमा बाउन्ड्रिमा आसिफ शेखबाट क्याच भए । राइमन राइफरले २० बलमा १७ रन बनाए । राइफर जिमी निशमको बलमा कप्तान अनिल शाहबाट क्याच आउट भए ।
न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेलिरहेका दिनेश छैटौं ओभरको पाँचौ बलमा न्युजिल्यान्डका अन्तर्राष्ट्रिय क्रिकेटर जिमी निशमको बलमा आउट भए । दिनेशले १७ बलमा १० रन जोडेका थिए ।
कप्तान कुशल भुर्तेलले ६ बलमा १ चौकाको सहयोगमा ६ रन जोडे । ललित राजवंशीकाे बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट स्टम्पीङ भए । दिलिप नाथ १४ बलमा ११ रन जोड्दै आउट भए । नाथ मोहम्मद मोहसिनको बलमा एलबिडब्लु धरापमा परे ।
जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३१ रन खर्चे। जेम्स निसमले २ विकेट झारे। मोहम्मद मोहसिन र किशोर महतोले एक विकेट आफ्नो नाममा गरे। आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।
जारी एनपीएलमा जनकुपर बोल्ट्सले तेस्रो र पोखरा एभेन्जर्सले दोस्रो खेल खेलिरहेको हो । जनकपुर बोल्ट्स यसअघि खेलिएको दुवै खेलमा विजयी भएको थियो । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो ।
जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा भने बलियो कर्णाली याक्समाथि आठ विकेटको जित हासिल गरेको थियो । जारी एनपीएलको सबैभन्दा महँगो क्लब पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।















