रोहित र जपरको बिस्फोटक ब्याटिङमा लुम्बिनीले चितवनलाई दियो बलियो लक्ष्य

Image

काठमाडौं । रोहित र साद विन जपरको उत्कृष्ट अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेलमा चितवनलाई लुम्बिनीले १ सय ६८ रनको बलियो लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो।

कप्तान पौडेलले टोलीका लागि अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८० रनको योगदान दिए । ५७ बलको इनिङ्समा रोहितले ६ चौका र ५ छक्का प्रहार गरे । उनको यो दोस्रो अर्धशतक हो । यसअघि चितवनका रवि बोपाराले मात्र प्रतियोगितामा दुईवटा अर्धशतक बनाएका थिए ।

रोहितले यसअघि पोखरा एभेन्जर्सको विरुद्धमा ९५ रन बनाएका थिए । जारी प्रतियोगितामा रोहित सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले ५ खेलमा २ सय ६१ रन बनाएका छन् । त्यस्तै, साद बिन जाफरले पनि अर्धशतक बनाउँदै ५२ रनको योगदान दिए । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

खेलमा लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन । रिजन ढकालले घातक बलिङ गर्दा टोलीले दोस्रो ओभरमा १ रनको स्थितिमा दुई विकेट गुमाएको थियो । आशुतोष घिरैया १ रन र उन्मुक्त चन्द शून्य रन बनाएर आउट भए ।

अर्का ओपनर अर्जुन साउदले कप्तान पौडेलसँग मिलेर लुम्बिनीको इनिङ्स सम्हाल्दै गर्दा उनी पनि १२ बलमा १५ रन जोडेर आउट भए । उनले १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, टम मुर्सले ५ बलमा १० रन जोडे । त्यसपछि रोहित र जाफर मिलेर शतकीय साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक लक्ष्य दिन पुग्यो।

चितवनका लागि रिजन ढकालले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २९ रन खर्चिए । त्यस्तै, कुशल मल्ल र रञ्जित कुमारले एक–एक विकेट हात पारे । प्रतियोगिताका सर्वाधिक विकेट लिने सोहेल तनवीरले भने कुनै विकेट लिन सकेनन् । उनले ४ ओभरमा २७ रन खर्चिए ।

लुम्बिनी हालसम्म प्रतियोगितामा जितविहीन रहेको छ । ४ खेल खेलेको टोली चारै खेलमा पराजित भएको छ । शून्य अङ्क बटुलेको टोली अङ्क तालिकामा पुछारमा रहेको छ । उता, चितवनले ४ खेलमध्ये ३ खेलमा जित र १ खेलमा हार बेहोरेको छ । टोली ६ अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।