काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम रोयल्स बुधबार खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
पहिलो क्वालिफायर खेलमा पराजित भएको जनकपुर बोल्ट्सले अब बिहीबार हुने दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सको सामना गर्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ ।
सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले ५८ रन बनाए । उनले ५५ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । एनपीएलमा विनोदको यो पहिलो अर्धशतक हो । विनोदले पहिलो विकेटका निम्ति अर्का ओपनर सबै जैबसँग ७.३ ओभरमा ५६ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
किशोर महतोको ओभरमा जिम्मी निसमबाट क्याच हुनुअघि जैबले ३२ रन बनाए । उनले २१ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।५६–१ को स्थितिबाट विनोदले दोस्रो विकेटका निम्ति ब्रान्डन म्याकमुलमसँग ५९ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई सहज जिततर्फ डोहोर्याएका थिए ।
१५औँ ओभरको पहिलो बलमा ललित राजवंशीले निसमबाटै क्याच गराउनुअघि म्याकमुलमले २५ रन जोडे । उनले १९ बलमा एक चौका र एक छक्का प्रहार गरे । विनोदसँगै अविजित रहेका कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।
जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो। जनकपुका लागि जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।
अर्धशतकबाट ५ रनले चुक्दै निशम स्कट कुग्गेलेइनको बलमा बोल्ड हुन पुगे । शुभ कसांकार २४ बलमा २६ रन बनाउँदै रन आउट भए । शुभ हर्ष ठाकरसँग रन लिनेक्रममा तालमेल नमिल्दा आउट हुन पुगे ।
कप्तान अनिल शाहको अनुपस्थितीमा ओपन गर्न आएका लाहिरु मिलन्था १४ बलमा २ चौकाको सहयोगमा १२ रनमा आउट भए । तेस्रो ओभरको पाँचौ बलमा मिलन्था सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा एलबिडब्लु आउट भए ।
नियमित कप्तान अनिलको स्थानमा टोलीको कप्तानी गरिरहेका आसिफ शेख १० बलमा २ चौकाको सहयोगमा ११ रन जोड्दै आउट भए । कप्तान आसिफ छैठौं ओभरको पाँचौ बलमा सेफ अलि जेबबाट बोल्ड आउट भए ।
हर्ष ठाकर १४ बलमा १२ रन बनाउँदै सेफ अलि जेबको बलमा आउट भए । अरनिको यादव २० बलमा ११ रन जोड्दै दीपेन्द्रको बलमा एलबिडब्लु भए । मोहम्मद मोहसिन ६ बलमा ३ रन बनाउँदै कप्तान दीपेन्द्रको बलमा एलबिडब्लु भए ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ विकेट लिए ।















