जनकपुरसँग पराजित भएपछी यस्तो भन्छन् एनपिएलमा उदाएका १६ वर्षीय बलर विपिन

Image

काठमाडौँ । एनपिएलबाट उदाएका १६ वर्षीय देब्रे हाते लेगस्पिनर विपिनप्रसाद शर्माले आफूले राम्रो प्रदर्शन गरे पनि कर्णालीलाई फाइनलम पुर्‍याउन नसकेकोमा दु:ख व्यक्त गरे। न्युजिल्यान्डका चर्चित अलराउन्डर निशमलाई यसअघि भेट्दा ‘तपाईंको विकेट लिन्छु’ भनेको कुरा पनि उनले सुनाए।

‘अस्ति होटलमा भेट्दा उहाँको विकेट लिन्छु भनेको थिएँ, उहाँले फेन्टास्टिक भन्नु भएको थियो,’ विपिनले भने। उनले बिहीबार जनकपुरका लागि आक्रामक ब्याटिङ गरेका निशमलाई ४५ रनमा बोल्ड गरेका थिए।

सो विकेटबारे उनले भने, ‘निशम पनि देब्रे हाते भएकाले आक्रामक ब्याटिङ गर्छन् भन्ने थाहा थियो। दोस्रो बल लेग साइडमा दिएको थिएँ। विकेटकिपर वाल्टनले विकेट नछोडी बल फाल भनेका थिए। निशम पनि टिकिरहेका थिए। वाल्टनले भनेअनुसार गरेका कारण विकेट लिएँ।’

यसअघि कर्णालीको टोलीमा भारतीय राष्ट्रिय टोलीका पूर्वओपनर शिखर धवनले पनि खेलेका थिए। धनवसँगै एउटै टोलीमा हुनु राम्रो पक्ष भएको विपिनको भनाइ छ। धवनले पनि आफ्नो टोलीमा एक जना राम्रो स्पिनर भएको भन्दै विपिनको प्रशंसा गरेका थिए।

‘धवनसँग क्रिजमा उभिनु नै हाम्रो ठूलो कुरा हो। उहाँ टोलीमा हुँदा विपक्षी बलरको मनमा प्रश्न आउछ। उहाँले माइन्ड सेटबारे धेरै सिकाउन भयो,’ विपिनले भने।

प्रतियोगिताका लागि उनले अक्सनमा नगई कर्णालीको ट्यान्ट हन्टमा गएर टोलीमा पर्ने योजना बनाएका थिए। त्यही योजना सफल भएको विपिन बताउँछन्। कर्णालीको टोलीमा ट्यालेन्ट हन्ट परेर पहिलो दिन आउँदा नर्भस भएको उनले बताए।

‘पहिलो दिन नर्भस भएको थिएँ। तर सबै दाइले सजिलो बनाउनु भयो। पहिलो अभ्यास गरेपछि राम्रो भयो,’ उनले सुनाए। कर्णालीको प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल हुन् भने कप्तान सोमपाल कामी। दुई जनाले आफूलाई विश्वास गर्दै अवसर दिएकोमा उनले धन्यवाद दिए।

प्रतियोगितामा लिएका १३ विकेटमध्ये सबैभन्दा उत्कृष्ट विकेटको विषयमा प्रश्न गर्दा उनले भने, ‘सबै विकेट वेस्ट लाग्यो।’ उनले पहिलो सिजनमा चम्किएपछि आफू नहराउने बताउँदै लामो समय क्रिकेट खेल्ने बाचा पनि गरे। ‘कति क्रिकेटर पहिलो सिजनमा चम्किन्छन् र हराउँछन्। म त्यस्तो हुन चाहँदिनँ। म आफ्नो प्रोसेस फलो गरेर अघि बढ्छु,’ उनले भने।