काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ। बार्सिलोनाकै रंगशालामा सम्पन्न भएको खेलमा उसले घरेलु समर्थकमाझ २–१ को हार बेहोरेको हो।
खेलको ३०औं मिनेटमा नै बार्सिलोनाका लागि पेड्रीले गोल गरेर अग्रता बनाएका थिए। तर बार्सिलोनाले सो अग्रतालाई कायम राख्न सकेन। एट्लेटिकोको लागि खेलको ६०औं मिनेटमा रोड्रिगो डी पलले गोल गरेका थिए। यससँगै खेल १–१ गोलको बराबरीमा पुगेको थियो। खेलको इन्ज्युरी समयमा उनले नै दोस्रो गोल गरेपछि भने बार्सिलोना लगातार तेस्रो पटक घरेलु मैदानमा पराजित भयो।
सन् १९६५ र १९८७ पछि ला लिगामा बार्सिलोनाले घरेलु मैदानमा लगातार तीन खेल हारेको यो तेस्रो पटक हो।
यता एट्लेटिको मड्रिडले भने पछिल्ला १२ खेलमा हार बेहोरेको छैन। यो क्लबको सबैभन्दा लामो अपराजित यात्राभन्दा एक जित मात्र कम हो। एट्लेटिकोको लागि अलेक्जेन्डर सरलोथले बार्सिलोनाविरुद्ध पछिल्ला खेलहरूमा ६ गोल गर्न सहयोग गरेका छन्।
उनले तीन गोल गरेका छन् भने तीन असिस्ट गरेका छन्। ला लिगामा गए राति नै भएको अर्को खेलमा भने एथ्लेटिक क्लबले ओसासुनालाई २–१ ले हराएको छ।














