आईसीसी वरीयता सार्वजनिक, यस्तो छ दीपेन्द्र, रोहितसहित यी प्रमुख खेलाडीको स्थान

Image

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टिम र खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल टी-२० आईमा १७औँ र ओडीआईतर्फ १८ औँ स्थानमा यथावत रहेको छ ।

नयाँ वरीयतामा बलिङ, ब्याटिङ र अलराउन्डरतर्फ नेपालका खेलाडी पनि अटाएका छन् । आईसीसीले सार्वजनिक गरेको वरीयता अनुसार नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी ब्याटिङ, बलिङ र अलराउन्डर तीन विधामा परेका छन् ।

आईसीसीका अनुसार दीपेन्द्रसिंह ऐरी अलराउन्डरतर्फ विश्वकै दोस्रो स्थानमा यथावत छन् । यसअघि सन् २०२४ को अन्तिम वरीयतामा पनि दीपेन्द्रसिंह अलराउन्डरतर्फ दोस्रो स्थानमा थिए । यसैगरी, टी-२० आईको ब्याटिङतर्फ दीपेन्द्रसिंह ५१औँ र बलिङतर्फ ६२ औँ स्थानमा छन् ।

यस्तै, टी-२० को अलराउन्डरतर्फ नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल ५६ औँ र ब्याटिङतर्फ ६०औँ स्थानमा छन् । यसैगरी, ओडीआईतर्फ ब्याटिङमा रोहित ९६औँ स्थानमा छन् । ओडीआईतर्फ ब्याटिङमा नेपालका आसिफ शेख ८५औँ र कुशल भुर्तेल ९२औँ स्थानमा छन् ।

यसैगरी, ओडीआईको बलिङतर्फ नेपालका सन्दिप लामिछाने ४९औँ, ललितनारायण राजवंशी ५५औँ, दीपेन्द्रसिंह ७०औँ, सोमपाल कामी ८५औँ र करण केसी ९०औँ स्थानमा छन् ।

यस्तै, ओडीआई अलराउन्डरतर्फ नेपालका सोमपाल कामी ४६औँ स्थानमा छन् । यस्तै, सन्दिप लामिछाने ४९औँ स्थानमा रहँदा दीपेन्द्रसिंह ५३औँ स्थानमा छन् । कुशल मल्ल ५७औँ स्थानमा रहँदा करण केसी ७६औँ, गुल्सन झा ९२औँ र ललित राजवंशी ९६औँ स्थानमा छन् ।