हेटौंडा / मनहरी ५ मा पुस १४ गते बाघको आक्रमणबाट ज्यान गुमाएकी ७२ वर्षीया कान्छीमाया रुम्बाको परिवारलाई मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले घरमै पुगेर किरिया खर्चका लागि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। साथै, पर्सा राष्ट्रिय निकुञ्ज र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरी क्षतिपूर्तिका लागि पहल गरिरहेको जानकारी दिनुभयो।

अध्यक्ष कालाखेतीले यो घटना केवल व्यक्तिगत दुःख मात्र नभई मानव र वन्यजन्तुबीचको बढ्दो द्वन्द्वको गम्भीर संकेत भएको बताउँदै, दीर्घकालीन समाधानका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो। उहाँले जंगली जनावरका आक्रमणबाट हुने क्षति रोक्न सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै, मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभयो।
यो घटना मानव र वन्यजन्तु बीचको सन्तुलन कायम राख्न ठोस र दीर्घकालीन रणनीतिहरू अपनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो।















