हेटौंडा/ ६६ वर्षदेखि निरन्तर मकवानपुर, बारा, पर्सा, रौतहत, र सर्लाहीसम्मका आम नागरिकको सेवामा समर्पित नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित र सञ्चालित हेटौंडा अस्पताललाई कुनै पनि हालतमा अन्य प्रतिष्ठानमा विलय गर्नु उचित छैन भन्दै आज बाट हेटौंडा अस्पताल अगाडि हस्ताक्षर अभियान सुरु गरिएको छ। उद्योगी, व्यापारी, विभिन्न संघ-संस्था तथा नेपाल सरकारको लगानीबाट निर्माण भएको यस अस्पतालले जनताको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस कार्यक्रमका संयोजक विशाल राज महतले बताउनुभयो। “कोभिड महामारीदेखि हालसम्मको सेवामा यस संस्थाको योगदान अतुलनीय छ,” उहाँले भन्नुभयो।
२०७६ साल असोज २ गते प्रदेश सभाले बहुमतले पारित गरेको कानुनद्वारा हेटौंडा अस्पतालको सम्पूर्ण चल/अचल सम्पत्ति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय भएकोमा हामी गम्भीर असहमति व्यक्त गर्दछौं। यो निर्णय संविधानको धारा ३५ अन्तर्गतको स्वास्थ्यसम्बन्धी मौलिक हकको उल्लंघन हो। कुनै पनि सरकारी अस्पताललाई प्रतिष्ठानमा समाहित गर्दा विभिन्न समस्याहरू उत्पन्न हुने संयोजक महतले बताउनुभयो।
किन विरोध गरियो?
• स्वास्थ्य सेवामा प्रत्यक्ष असर हेटौंडा अस्पतालले हालसम्म निःशुल्क रूपमा प्रदान गर्दै आएका वेवारिसे उपचार, जेष्ठ नागरिक उपचार, विपन्न तथा अल्पसंख्यक समुदायका लागि विशेष सुविधा, दर्जनौं सरकारी औषधि तथा परीक्षण सेवा गुम्न सक्छ।
• सार्वजनिक सम्पत्तिको जोखिम प्रतिष्ठानको व्यवस्थापन अन्तर्गत गइसकेपछि यसको सम्पत्ति बेचबिखन वा धितो राख्ने सम्भावना रहन्छ, जसले अस्पतालको भविष्य अन्योलमा पार्नेछ।
• जनसाधारणको पहुँच सीमित हुने खतरा सरकारी स्वामित्वमा रहेको हेटौंडा अस्पताल सर्वसुलभ स्वास्थ्य सेवाको केन्द्र हो। प्रतिष्ठानमा गाभिएपछि उपचार सेवा महँगो हुन सक्ने र सर्वसाधारण नागरिकको पहुँच कम हुने सम्भावना छ।
• अस्पतालका कर्मचारीको भविष्य अन्योलमा पर्ने हाल कार्यरत कर्मचारीको रोजगारी सुरक्षामा प्रश्न उठ्नेछ, जसले अस्थिरता निम्त्याउन सक्छ।
• लोकतान्त्रिक प्रक्रिया अवलम्बन नगरिनु यस्तो महत्त्वपूर्ण विषयमा नागरिक, कर्मचारी, तथा अन्य सरोकारवालासँग कुनै परामर्श नगरिनु लोकतान्त्रिक मूल्यविपरीत छ।
माग के हो?
हेटौंडा अस्पताललाई सरकारी अस्पतालकै रूपमा निरन्तर सञ्चालन गरियोस्।
• प्रतिष्ठानलाई पृथक रूपमा सञ्चालन गरी शिक्षण अस्पतालको रूपमा विकास गरियोस्।
• प्रदेश सभाले हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णय तुरुन्त फिर्ता लियोस्।
• जनताको स्वास्थ्य अधिकारलाई प्राथमिकता दिँदै, हेटौंडा अस्पताललाई थप सुविधा सम्पन्न बनाउने योजनाहरू अघि बढाइयोस्।
हामी सबै मकवानपुरवासी, यस विषयमा एकजुट भई हेटौंडा अस्पतालको अस्तित्व जोगाउन आम नागरिकहरूलाई यस हस्ताक्षर अभियानमा हस्ताक्षर गरिदिनु संयोजक महतले आग्रह गर्नु भएको छ।















