नारायणी यातायात व्यवसायी संघको वार्षिक साधारण सभा १७ गते हुने

Image

हेटौंडा / नारायणी यातायात व्यवसायी संघको ३६औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशन फागुन १७ गते शनिबार हेटौंडाको पल्पसामा हुने भएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरूले कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य रहने जानकारी गराएका छन्। उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरिने बताइएको छ।

संघका महासचिव सरोजकुमार खनालका अनुसार साधारण सभाको दिन नेपाल मेडिसिटी अस्पताल, काठमाडौंका विशेषज्ञ चिकित्सकहरूको टोलीले किड्नी सम्वन्धि स्वास्थ्य परीक्षण गरिने र यातायात व्यवसायी तथा स्थानीय नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यो सेवा संघले सञ्चालन गर्न लागेको खनालले बताउनुभयो।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष हिरालाल श्रेष्ठले संघले सेवा प्रदान गर्ने संस्था भए पनि नेपाल सरकारलाई नियमित रूपमा कर तिर्दै आएको उल्लेख गर्नुभयो । उनले संघलाई अहिले पनि ठूलो मात्रामा कर तिर्नुपर्ने बाध्यता रहेको र आर्थिक अभावको सामना गरिरहेको जानकारी गराएको छ ।

संघले यातायात क्षेत्रको व्यवस्थापन, व्यवसायीहरूको हकहित तथा यात्रु सुविधासँग सम्बन्धित विविध विषयहरूमा छलफल गर्न साधारण सभा आयोजना गरेको हो। कार्यक्रममा संघका विभिन्न पदाधिकारी, यातायात व्यवसायी, सरोकारवालाहरू तथा सरकारी अधिकारीहरूको उपस्थिति रहने बताइएको छ।