हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २, बैकुण्ठमा निर्माण गरिएको कैलाश—बैकुण्ठ जीपलाइन को पहिलो चरणको परीक्षण सफल भएको छ। शुक्रबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, ईन्जिनियर अनिल जोशी लगायत प्राविधिक टोलीले जीपलाइन परीक्षण गरेका थिए।
पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदानप
रीक्षणपछि गाउँपालिका अध्यक्ष मुक्तानले जीपलाइनले गाउँपालिकाको पर्यटन प्रवर्द्धन मा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। भौगोलिक रूपमा विकट भए पनि १,२०० मिटर लामो जीपलाइन निर्माण गरेर सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्न सकिने उदाहरण प्रस्तुत गरिएको उहाको भनाइ छ।
जीपलाइनले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने विश्वास व्यक्त गर्दै, यसले स्थानीय युवाका लागि रोजगारीका अवसर समेत सिर्जना गर्ने बताउनुभयो।
आसपासका क्षेत्रका लागि नयाँ आकर्षण
कैलाश—बैकुण्ठ जीपलाइन सञ्चालन भएपछि धादिङ जिल्लाको रोराङ, बेनीघाट र गजुरी गाउँपालिका तथा मकवानपुर जिल्लाको थाहा नगर, राक्सिराङ र मनहरी गाउँपालिका का साहसिक खेल पारखीहरूका लागि उत्कृष्ट गन्तव्यस्थल बन्ने अपेक्षा गरिएको छ।
जीपलाइन स्थल धादिङसँग सीमा जोडिएकाले बेनीघाट, थाहा नगर र मनहरी बजार बाट करिब ३३ किलोमिटर सडक दूरी मा पुग्न सकिने छ। बैकुण्ठमा जीपलाइनसँगै पर्यटकीय पार्कहरू समेत निर्माण गरिएका छन्, जसले पर्यटकहरूलाई थप आकर्षित गर्नेछ।
लगानी र प्राविधिक पक्ष
जीपलाइन निर्माणका लागि फोरजी कम्पनीले आव २०७९/८० मा १ करोड ९० लाख ९७ हजार रुपैयाँ खर्च लाग्ने भनी प्रतिवेदन बुझाएको थियो।
गाउँपालिकाले बहुवर्षीय योजना अनुसार स्टेशन, ब्रेकिङ सिस्टम (हार्नेस) र तार निर्माण कार्य सम्पन्न गरेको योजना शाखा प्रमुख भट्ट ले जानकारी दिनुभयो। निर्माण कार्यका लागि सन्ध्या निर्माण सेवा सँग ८८ लाख ५६ हजार ७६१ रुपैयाँ मा सम्झौता भएको र ०८१ फागुन मसान्तसम्म पूरा गरिने योजना रहेको उहाले बताउनुभयो।
परीक्षणको क्रममा जीपलाइन प्राविधिक तथा प्रशिक्षक बद्री घिमिरे ले चढेर परीक्षण गर्नु भएको थियो।
यस सफल परीक्षणले बैकुण्ठ क्षेत्रलाई साहसिक पर्यटनका लागि चर्चित गन्तव्य बनाउने अपेक्षा गरिएको छ।















