मकवानपुर प्रशासनले सूर्तिजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्ने

Image

हेटौंडा /  जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूर्तिजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने भएको छ। यस सम्बन्धमा मकवानपुर प्रशासनले २०८१ मंसिर २८ गते एक सूचना जारी गर्दै तोकिएका क्षेत्रहरूमा सूर्तिजन्य पदार्थ बिक्री तथा वितरण नगर्न आदेश दिएको छ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमित) गर्ने ऐन, २०६८ को दफा ११ उपदफा (३) अनुसार शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका सार्वजनिक स्थलबाट कम्तिमा एक सय मिटरभित्रको क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्री तथा वितरण गर्न निषेध गरिएको छ।

प्रशासनले सूचनामा उल्लेख गरेअनुसार उक्त नियमको उल्लङ्घन गर्ने व्यक्ति वा पसललाई ऐनको दफा १७ को उपदफा (५) (घ) अनुसार कारवाही गरिने छ। साथै, अनुगमनको क्रममा नियमविपरीत क्रियाकलाप पाइएमा तत्काल कारवाही गर्ने चेतावनी पनि दिइएको छ।
मकवानपुर प्रशासनले सबैलाई यो नियमको पालना गर्न आग्रह गर्दै सूर्तिजन्य पदार्थ बिक्री वितरणलाई नियन्त्रण गर्न स्थानीय स्तरमा समेत निगरानी बढाइने बताएको छ।