हेटौंडा / मकवानपुरको हेटौँडामा ३९० घण्टे आधारभूत ब्युटिपार्लर तालिम सोमबारदेखि सुरु भएको छ। बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभीटी) र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।
सूर्यमणि प्राविधिक शिक्षालय प्रा.लि.द्वारा आयोजित तालिममा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाबाट २० जना महिला सहभागी छन्। तालिम व्यवस्थापन र शिप परीक्षाका लागि सीटीईभीटी र हेटौँडा उपमहानगरपालिकाले क्रमशः ६० प्रतिशत र ४० प्रतिशत आर्थिक सहयोग गरेका छन्।
महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन लक्ष्य राखेर थालिएको यो तालिमको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले गर्नुभयो। उहाले प्राकृतिक सौन्दर्य सामग्रीको प्रयोगमार्फत् ब्युटिपार्लर व्यवसायलाई व्यवसायिक बनाउने उद्देश्यले तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
सीटीईभीटीका प्रमुख शान्ति लामाले महिलाहरुलाई आफ्नै ठाउँमा शिप सिकेर स्वरोजगार बन्न तालिमको पूर्ण रूपमा उपयोग गर्न सुझाव दिनुभयो।















