नेसन्स लिग फुटबल : इटालीमाथि जर्मनीको पुनरागमन जित

Image

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत क्‍वाटरफाइनलको पहिलो लेगमा जर्मनीले इटालीलाई पराजित गरेको छ ।

जर्मनीले इटालीमाथि उसैको मैदानमा २-१ को पुनरागमन जित निकालेको हो । पहिलो हाफमा १-० ले पछि परेको जर्मनीले दोस्रो हाफमा दुई गोल फर्काएको थियो ।

जर्मनीको जितमा टिम क्लेनडेन्स र लियोन गोरेट्जकाले १-१ गोल गरे । त्यसअघि इटालीका सान्द्रो टोनालीले १ गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा नै टोनालीको गोलमार्फत अग्रता लिएको इटालीले पहिलो हाफमा १-० को अग्रता बनाएपनि दोस्रो हाफमा जोगाउन सकेन ।

दोस्रो हाफको ४९औं मिनेटमा क्लेनडेन्स र ७६औं मिनेटमा गोरेट्जकाले गोल गर्दै टोलीको जित पक्का गरे । अब दोस्रो लेगको खेल आउँदो सोमबार हुनेछ ।