काठमाडौं । नेपाली यु-१९ क्रिकेट टोलीले भारतको दिल्ली यु १९ लाई पहिलो ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ । विरगन्जमा मंगलवार भएको ३ खेलको सिरिजको पहिलो खेलमा दिल्ली यु-१९ विरुद्ध नेपालले ५ विकेटको जित हात पारेको हो ।
९६ रनको सामान्य लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अमर मिश्रले३९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २७ रन जोडे ।
रोशन विश्वकर्मा १४ बलमा १ चौका र ३ छक्काको सहयोगमा नट आउट २५ रन बनाए । सिब्रिन श्रेष्ठ १७ र कप्तान नरेन भट्ट १८ रनमा आउट भए । दिल्लीका लागि अमन चौधरीले २, कृति कौशिक, शुभम दुवे र रौनक वागिलाले समान १ विकेट लिए ।
त्यसअघि पर्सामा रहेको टिबी साह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको दिल्ली २३.३ ओभरमा ९५ रनको योगफलमा समेटिएको थियो ।
दिल्लीका लागि ओपनर सार्थक पलले २९ बलमा ४ चौका र १ छक्काका साथ २९ रन जोडे । ४९ रन बनाउँदा कुनै विकेट नगुमाएको दिल्लीले थप ४६ रन जोड्दा १० विकेट गुमाएको थियो ।
शन्तनु यादव र आदित्य भण्डारी समान १३, अतुल्य पाण्ड्य ११ र प्रनभ पन्त १० रनमा आउट भए । दिल्लीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यु-१९ विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेल बिहीवार खेल्नेछ ।















