हेटौंडा/ हेटौंडा उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौं स्थापना दिवसको अवसरमा हेटौंडा-११, थानाभर्याङमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मानव सेवामा योगदान दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा ४० जना रक्तदाताहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।
कार्यक्रमको उद्घाटन हेटौंडा-११ की वडा अध्यक्ष जुना दाहालले प्रमुख अतिथिको रूपमा गर्नुभएको थियो। रक्तदाताहरूलाई बधाई तथा शुभकामना दिँदै उहाँले रक्तदानजस्तो पुण्यकार्यलाई सहकारी संस्थाहरूले प्रवर्द्धन गर्नु प्रेरणादायी भएको बताउनुभयो। साथै, उहाँले यस्ता समाजसेवामुखी कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
सभाध्यक्ष दिनेश विडारीको नेतृत्वमा सम्पन्न कार्यक्रम यज्ञ बहादुर आचार्यको संयोजकत्वमा सञ्चालन भएको थियो। कार्यक्रममा विशेष अतिथिहरूका रूपमा वडा नं. ११ का वडा सदस्य विकास नेपाल, सञ्जय विडारी, गोपिनी सापकोटा, गीता सुनार, वागेश्वरी साकोसकी अध्यक्ष आशा अर्याल, तथा सामुदायिक सेवा केन्द्रकी प्रहरी सहायक हवल्दार निमा भण्डारी सहभागी हुनुभएको थियो।
स्थानिय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रममा संयोजक आचार्यले “रक्तदान, जीवनदान” भन्ने नारालाई आत्मसात गर्दै, यस अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
कार्यक्रमलाई सफल बनाउन आयोजक संस्था, स्वयंसेवक तथा सहभागीहरूको महत्वपूर्ण योगदान रहेको थियो। उपयोगि सहस्राब्दी साकोसले आगामी दिनमा पनि सामाजिक सेवामुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।















