काठमाडौं । नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो ।
यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली १७ ओभरमा ७१ रनमा समेटियो ।दिल्लीका लागि कप्तान रौनक वाघिलाले २६ बलमा सर्वाधिक १७ रन बनाए । दिल्लीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दिल्लीको ब्याटिङ धराशाही बनाउने क्रममा नेपाली टोलीका लागि दयानन्द मण्डलले ४, विपिन शर्माले २ र नितेश पटेलले १ विकेट लिए ।
त्यसअघि टिबी साह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीले ३९.४ ओभरमा अल आउट हुँदै १ सय २२ रन मात्र बनाएको थियो ।
टोलीका रोशन विश्वकर्माले १२ बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रनमा आउट भए । युवराज खत्री ४३ बलमा २ चौकाको सहयोगमा १८ रनमा आउट भए । साहिल पटेल र दिल्शाद अलिले समान १७, सोहेल कुवँर ५० बलमा १५ र सन्तोष यादव १० रनमा आउट भए ।
दिल्लीका कृत कौशिकले १० ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए । रौनक वाघिलाले ३ तथा शुभम दुबे र अमन चौधरीले समान १ विकेट लिए ।
नेपाली युवा टोली यु १९ विश्वकपको लागि एसिया छनोटको तयारीमा रहेको छ । एसिया छनोट अघि नेपालले बिहीवारदेखि अफगानिस्तानसँग ३ खेलको सिरिज खेल्ने छ ।












