हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, ठुलोसुकौलिमा फागुन २२ गते भएको भीषण आगलागीमा परेर कोपिला लामाको भान्सा घर पूर्ण रूपमा नष्ट भएको थियो। घटनामा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
अचानक आगोले लामाको भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको थियो। उक्त पिडित परिवारलाई राहत पुर्याउन वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मुक्तानको अग्रसरतामा नयाँ भान्सा घर निर्माणको कार्य सुरु गरिएको छ।
वडा अध्यक्ष मुक्तानले स्थानीयवासीसँग समन्वय गर्दै निर्माण कार्यलाई तीव्रता दिएका छन्। उहाँले पीडित परिवारलाई नयाँ भान्सा घर निर्माण गरी यथाशीघ्र पुनःस्थापना गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
“समाजमा दुःखमा परेकालाई साथ दिनु सबैको कर्तव्य हो,” अध्यक्ष मुक्तानले भन्नुभयो, “स्थानीय तहबाट सक्दो सहयोग पुर्याउने छौं।”
यस मानवीय पहलप्रति स्थानीयवासीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले पनि सम्भव भएसम्मको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
सहयोग, समर्पण र सामूहिक प्रयासको यो उदाहरणले स्थानीय तह र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाएको छ।















