हेटौंडा / भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुर र बकैया गाउँपालिका गाउँकार्यपालिकाको संयुक्त आयोजनामा आयोजित विशेष समारोहमा बकैया गाउँपालिका वडा नं. ४ र वडा नं. ७ का ५९ जना भूमिहीन, सुकुम्बासी, अवस्थित तथा दलित परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।
कार्यक्रम बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी प्रमुख अतिथि रहनु भएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा माननीय सुकमाया तामाङ, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, संघीय सांसद महेश बर्तौला, प्रदेश सांसदहरू इन्द्र बहादुर बानिया र प्रेम बहादुर पुलामीको गरिमामय उपस्थिति रहेको थियो।
सो अवसरमा जिल्ला स्तरीय भूमि समस्या समाधान आयोगका अध्यक्ष तथा पदाधिकारी, बकैया गाउँपालिकाका उपाध्यक्ष श्री भक्त बहादुर खत्री, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका जिल्ला तथा पालिकास्तरीय प्रतिनिधिहरू, संघसंस्थाका पदाधिकारीहरू तथा सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत वडा नं. ४ को गाउँब्लकबाट १९ जनालाई र वडा नं. ७ का भूमिहीन सुकुम्बासी तथा दलित समुदायका ४० जनालाई लालपुर्जा वितरण गरिएको हो। यस कार्यले दीर्घकालीन रूपमा सामाजिक न्यायको अभ्यास गर्दै स्थायित्व, सुरक्षा र अधिकार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।















