राक्सिराङमा स्वास्थ्य बिमा सेवाको सुरुवात, ग्रामीण बासिन्दा लाभान्वित हुने अपेक्षा

Image

हेटौंडा/ मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा रहेको राक्सिराङ आधारभूत अस्पतालमा अबदेखि स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको छ। बिहीबार आयोजित एक विशेष समारोहमार्फत औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरिएको हो।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, विभिन्न वडाध्यक्षहरू तथा सरोकारवालाहरूको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले ग्रामीण क्षेत्रमा आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य बिमा सेवा महत्वपूर्ण हुने बताए। साथै, पालिकाले विपन्न वर्गको स्वास्थ्य बिमा गराउन विशेष सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।

उपाध्यक्ष थिङले स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै नागरिकमा जनचेतना फैलाउनु आवश्यक रहेको बताउँदै, बिमा सेवाको जानकारी प्रचार-प्रसार गर्न सबैमा आग्रह गरे।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतले गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै, दीगो रूपमा सेवा सञ्चालन गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको धारणा राखे।

स्वास्थ्य शाखा प्रमुख विजय कापरीका अनुसार गाउँपालिकाका ९ वटै वडामा ९ सय घरधुरीका लागि बिमा गराउन अनुदान दिइएको छ। तर हालसम्म केवल दुई वडाबाट मात्रै विपन्न परिवारहरूको नाम सिफारिस गरिएको जानकारी उनले दिए।

अस्पतालमा अहिले सुविधासम्पन्न एक्सरे मेसिन, स्वच्छ खानेपानी परीक्षण प्रयोगशाला, अन्तरंग तथा बहिरंग सेवा, प्रयोगशाला सेवा, फार्मेसी लगायतका सेवाहरू उपलब्ध छन्। विगतमा सेवाग्राहीको उपस्थिति न्यून रहे पनि स्वास्थ्य बिमा लागु भएसँगै सेवाको माग बढ्ने विश्वास गरिएको छ।