भुटनदेवी माविमा प्राविधिक सीपमार्फत आत्मनिर्भर भविष्यको बाटो

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले व्यवसायिक सीप विकास तालिम सुरु गरेको छ। विद्यालयको आन्तरिक स्रोतबाट सञ्चालन गरिएको उक्त तालिमले विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक दक्षता हासिल गराउने लक्ष्य राखेको छ।

तालिमको उद्घाटन गर्दै वडा नं. ४ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देलले शिक्षा केवल किताबी ज्ञानमा सीमित नहुनु पर्ने उल्लेख गर्दै, विद्यालयस्तरमै व्यवसायिक शिक्षाको सुरुवात हुनु सकारात्मक पक्ष भएको बताउदै विद्यार्थीहरूको समग्र विकासमा सीपमूलक तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक माधव दाहालले भुटनदेवी माविले शिक्षासँगै अतिरिक्त क्रियाकलाप र व्यावसायिक तालिमहरूलाई नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयो।

हाल सञ्चालनमा ल्याइएको तालिम अन्तर्गत हेयर कटिङ, बेसिक ब्यूटी पार्लर तथा बेसिक इलेक्ट्रिसियन विषय समावेश गरिएका छन्। प्रत्येक तालिम समूहमा २० जना विद्यार्थीको सहभागिता रहेको सह–प्रधानाध्यापक भरत पोखरेलले जानकारी दिनुभयो।

कार्यक्रममा हेयर कटिङ प्रशिक्षक किरण अधिकारी र इलेक्ट्रिसियन तालिम प्रशिक्षक ज्ञानेन्द्र देवकोटाले व्यावसायिक सीपहरूको महत्व र यसको दीर्घकालीन प्रभावबारे धारणा व्यक्त गर्नुभयो।

तालिम शुभारम्भ समारोह प्रधानाध्यापक माधव दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकोटी, सह–प्रधानाध्यापक बेदराज कोईराला, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमिरे, माध्यमिक तह संयोजक संगीता उप्रेती, आधारभूत तह संयोजक श्याम बजगाईं, प्रारम्भिक तह संयोजक मुकुन्द न्यौपाने लगायत अन्य शिक्षकहरूको उपस्थिति रहेको थियो।