हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता सम्बन्धी बनेका ऐन तथा कानुनहरूबारे अभिमुखीकरण कार्यक्रम हेटौंडा ११ मा रहेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको सभाहलमा सम्पन्न भएको छ। नेपाल अपाङ्ग महासंघको आयोजनामा आयोजित उक्त कार्यक्रम हेटौंडा ११ का वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।
कार्यक्रममा हेटौंडा ११ की वडा सदस्य गोपिनी सापकोटाको विशिष्ट आतिथ्य रहेको थियो। साथै, राष्ट्रिय अपाङ्ग संघ नेपालका अध्यक्ष सारदा पौडेल, कोषाध्यक्ष शुप्रभा अर्याल, मकवानपुर बहिरंग संघका अध्यक्ष दुर्गा बानियाँ, अपाङ्ग महासङ्घका सहायक सुचना अधिकारी संजय पुलामी, मकवानपुर नेत्रहीन संघका पूर्वअध्यक्षसहित विभिन्न अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूका अधिकार र कानुनी व्यवस्था बारे जानकारी प्रदान गर्नु रहेको आयोजक संस्थाले जनाएको छ। सहभागीहरूले यस कार्यक्रमले आफूहरूलाई कानुनी जानकारी र आत्मविश्वास बढाउन सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।
















