राक्सिराङमा चट्याङ्ग पूर्वसूचना प्रणाली जडान, जनधनको क्षति न्यूनीकरणमा सहयोग हुने अपेक्षा

Image

हेटौंडा/  मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा चट्याङ्गबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न चट्याङ्ग पूर्वसूचना प्रणाली जडानका लागि मुख्य सेन्सर र आठवटा साइरन सामग्रीहरू वितरण गरिएको छ। साउथ एशियन लाइटिङ नेटवर्कको प्राविधिक सहयोगमा यो प्रणाली स्थापना तथा हस्तान्तरण गरिएको हो।

एक विशेष कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता र प्रमुख पदम बहादुर बस्नेतको उपस्थितिमा उक्त प्रणालीको औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रममा अध्यक्ष मल्लले चट्याङ्गजस्ता प्राकृतिक प्रकोपबाट जनताको सुरक्षा सुनिश्चित गर्न प्रविधिको प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै, यस्तो पूर्वसूचना प्रणालीले जनचेतना अभिवृद्धिसँगै जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उक्त प्रणालीमार्फत चट्याङ्ग आउनु भन्दा अघि नै साइरन बजेर सूचना प्रवाह हुने भएकाले स्थानीय बासिन्दाहरू सुरक्षित स्थानमा जान सक्ने र जीवन र सम्पत्तिको रक्षा हुने अपेक्षा गरिएको छ। राक्सिराङ क्षेत्रमा प्रत्येक वर्ष चट्याङ्गका कारण ठुलो जनधनको क्षति हुने गरेकोले, यस प्राविधिक हस्तक्षेपलाई एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।