एजेन्सी । नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।
सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो।
केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको अग्रता दोब्बर बनाए । मार्क फलेक्केनको लामो बललाई फरेस्टले क्लियर गर्न नसकेपछि विस्साले गोलकिपरलाई छक्याएर चिप गर्दै गोल हाने ।
फरेस्टले अंकतालिकाको तेस्रो स्थानमा उक्लिने मौका गुमायो र छैठौं स्थानमै रह्यो । टोली गोल अन्तरका आधारमा समान ६० अंक भएको चेल्सीभन्दा पछाडि छ ।
४९ अंकसहित ब्रेन्टफोर्ड ११औं स्थानमै छ। तर आठौं स्थानमा रहेको फुलह्यामभन्दा मात्र २ अंकले पछि छ। लिगको उपाधि लिभरपुलले जितिसकेको छ भने आर्सनल दोस्रो स्थानमा छ।















