हेटौंडा–१० मा २१६ जनाको स्वास्थ्य परीक्षणसहित निःशुल्क मुटुरोग शिविर सम्पन्न

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. १० मा आयोजित एकदिने निःशुल्क मुटुरोगसम्बन्धी स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर शाखाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १० को सहकार्यमा सम्पन्न सो शिविरमा करिब २१६ जनाले विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गराएका हुन्।

उक्त शिविर नेपाल ल्याब हाउस मल्टी स्पेस्यालिटी तथा आर.के. कम्प्लेक्स हेटौंडा–१० को प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। डा. टोनी हेगन स्मृति पार्कमा सम्पन्न सो शिविरको उद्घाटन वडा नं. १० का अध्यक्ष फुर्वा दोर्जे लामा र वडा नं. ११ की अध्यक्ष जुना दाहालले संयुक्त रूपमा गर्नुभएको थियो।

शिविरमा सहभागीहरूलाई मुटुरोग, मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), र मिर्गौला (किड्नी) सम्बन्धी प्रारम्भिक जाँचहरू तथा विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा प्रदान गरिएको थियो। प्रतिष्ठानका सभापति विजयकुमार वैद्य तथा संस्थापक सभापति इन्द्र नेपाल विशेष आतिथ्यका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो।

सभापति वैद्यले यस्ता शिविरहरूको मुख्य उद्देश्य समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नु तथा जोखिमपूर्ण रोगहरूको प्रारम्भिक पहिचान गरी उपचारका लागि समयमै आवश्यक कदम चाल्न सहयोग गर्नु रहेको बताउनुभयो। उहाँले प्रतिष्ठानले यस्ता स्वास्थ्य शिविरहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

आयोजक संस्थाहरूका अनुसार यस्ता स्वास्थ्य शिविरहरूले स्थानीयवासीमा रोगप्रतिको चेतना बढाउने र स्वास्थ्य परीक्षणप्रति अभिरुचि जगाउने अपेक्षा गरिएको छ।