१९ दिनका लागि काठमाडौं हेटौंडा छोटो दुरीको कुलेखानी–फाखेल–हुमाने सडक बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Image

हेटौंडा/ मकवानपुर बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने कुलेखानी–फाखेल–हुँदै हुमाने सडकखण्ड आगामी जेठ ५ गतेदेखि २० गतेसम्म १९ दिनका लागि पूर्णरूपमा बन्द हुने भएको छ।
इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने यस सडकखण्डमा कालोपत्रे तथा महालक्ष्मी खोलामा पक्की पुल निर्माणका लागि सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जानकारी दिएको हो।

प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कंडेलद्वारा मंगलबार जारी सूचनामा सो अवधिमा यस सडकखण्ड भएर सञ्चालन हुने सबै प्रकारका सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

सवारी साधनहरूलाई कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ मार्ग प्रयोग गर्न सुझाइएको छ।
सडक स्तरोन्नतिको कार्य बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय, हेटौँडामार्फत् भइरहेको जनाइएको छ। निर्माण कार्य सम्पन्न भएपछि सडकको गुणस्तर र आवागमन थप सहज हुने विश्वास लिइएको छ।