हेटौंडामा ६६ जनालाई शैक्षिक सामाग्री वितरण, सिमान्तकृत बालबालिकालाई प्रोत्साहन

Image

हेटौंडा/  नारी संरक्षण केन्द्र हेटौंडाद्वारा सञ्चालित “सुरक्षा र शिक्षा परियोजना” अन्तर्गत आज ६६ जना विपन्न तथा जोखिममा परेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।

कार्यक्रम केन्द्रकी अध्यक्ष दीपा कुमारी गुरुङको अगुवाइमा सम्पन्न भएको हो। हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देल कार्यक्रमका प्रमुख अतिथि थिए।

शैक्षिक सहयोग वितरण कार्यक्रममा गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, माइती नेपाल मकवानपुर प्रतिनिधि मन लामा, संयोजक ध्रुव अधिकारी, कोशिष बागमती प्रदेशकी फोकल पर्सन शकुन्तला पौडेल, हिमराइट्स मकवानपुरका फिल्ड सुपरभाइजर इन्द्रकुमारी तामाङ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक जेरोम घलेले बताएअनुसार, एक अभिभावक वा दुवै नभएका, हिंसा तथा मानव बेचबिखनबाट प्रभावित, साथै आर्थिक रुपमा पछाडि परेका बालबालिकाहरूलाई सहयोग प्रदान गरिएको हो।

हेटौंडा उपमहानगरपालिकाभित्रका ११ वटा वडाबाट छनोट गरिएका विद्यार्थीहरूलाई झोला, कापी, कलम, पोशाक लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ। परियोजनाले कक्षा १२ सम्म छात्रवृत्तिको निरन्तरता दिने योजना बनाएको छ।

नारी संरक्षण केन्द्रले विगत २५ वर्षदेखि शिक्षा पहुँचबाट बञ्चित बालबालिकाको हितमा काम गर्दै आएको छ र अहिलेसम्म २५५७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइसकेको छ।