स्वदेशमै सीप, स्वदेशमै सम्भावना: हेटौंडामा २० युवालाई ‘वारिष्टा’ तालिम सुरु

Image

हेटौंडा/  स्वदेशमै रोजगारीको सम्भावना खोज्दै हेटौंडाका २० युवा कफी बनाउने सीप (वारिष्टा तालिम) सिक्न जुटेका छन्। प्रवासको मोह घटाउँदै र आत्मनिर्भर बन्ने आकांक्षा बोकेका युवायुवतीलाई लक्षित गर्दै यो तालिम सुरु गरिएको हो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजनामा सुरु भएको तालिममा सहभागीहरूलाई १६० घण्टे निःशुल्क व्यावसायिक सीप दिइनेछ। तालिम राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको सहकार्यमा र मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन भइरहेको छ।

कार्यक्रमको उद्घाटन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह राणाभाटले गरे। उनले युवाहरूलाई सीप सिकेर देशमै स्वरोजगार बन्न प्रेरणा दिनुपर्ने बताए। “प्रमाणपत्र मात्रै होइन, आत्मनिर्भर बन्ने बाटो हो यो तालिम,” उनले भने।

संघका उपाध्यक्ष उज्ज्वल चौलागाईंका अनुसार, १५९ आवेदकमध्ये अन्तर्वार्ताबाट कुनै सिफारिसबिना आत्मविश्वास देखाएका २० जना छनोट गरिएको हो। “सीप सिकेर केही गर्छु भन्ने दृढता नै छनोटको आधार बन्यो,” उनले स्पष्ट पारे।

यो तालिम रोजगार खोजिरहेका युवाहरूका लागि मात्र नभई देशभित्रै सम्भावना खोज्ने सोचलाई प्रवर्द्धन गर्ने प्रयास पनि हो। प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको सहकार्यमा सुरु भएको यस पहलले स्थानीय स्तरमा व्यावसायिक तालिम र स्वरोजगारको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।