हेटौंडा / प्राकृतिक विपद्को सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी व्यवस्थापनलाई लक्षित गरी राक्सिराङ गाउँपालिकामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
गाउँपालिका कार्यालयमा सम्पन्न बैठकमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, उपाध्यक्ष, वडा अध्यक्षहरू, सुरक्षा निकाय, गैरसरकारी संस्था, युवा तथा महिला समूहका प्रतिनिधि लगायत सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकमा बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्को सम्भाव्यता, पूर्वतयारी, तथा प्रतिकार्य रणनीतिबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले विपद् व्यवस्थापनका लागि स्रोत साधनको समुचित प्रयोग, समयमै सूचना आदान–प्रदान, र आपसी समन्वयमा आधारित कार्ययोजना अवलम्बन गर्नुपर्नेमा जोड दिए।
गाउँपालिका अध्यक्ष मल्लले विपद् व्यवस्थापनमा स्थानीय तहको नेतृत्व निर्णायक हुने बताउँदै समुदायस्तरमै सचेतना र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। बैठकमा सामुदायिक संलग्नता, सुरक्षित स्थानको पहिचान, राहत भण्डारण तथा आपतकालीन सम्पर्क सञ्जाल निर्माणलगायत विषयमा सहमति भएको थियो।
यस बैठकले विपद् पूर्वतयारीमा स्थानीय सरकार र समुदायबीचको सहकार्यलाई थप स्पष्ट र क्रियाशील बनाएको सहभागीहरूको धारणा रहेको छ।















