नेतृत्व र अन्तर्राष्ट्रिय सोच विकासका लागि हेटौंडाको नवोदयमा MUN सम्मेलन हुने

Image

हेटौंडा/ नवोदयको आयोजनामा यही जेष्ठ १५, १६ र १७ गते नवोदय मोडेल युनाइटेड नेशन्स (MUN) कार्यक्रम हुने भएको छ। कार्यक्रमले नेपालको विभिन्न जिल्लाबाट आएका विद्यालयका विद्यार्थीहरूलाई कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, मानव अधिकार, जलवायु परिवर्तन, स्वास्थ्य, शिक्षा, शान्ति र सुरक्षा जस्ता महत्वपूर्ण विषयमा छलफल गर्ने अवसर प्रदान गर्नेछ।

मोडेल युनाइटेड नेशन्स (MUN) अन्तर्राष्ट्रिय अभ्यासमा आधारित शैक्षिक तथा वैचारिक कार्यक्रम हो, जसमा विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिको भूमिका निर्वाह गर्दै वास्तविक संयुक्त राष्ट्रसंघ (UN) को प्रक्रिया र संरचनाको अभ्यास गर्छन्। कार्यक्रममा सहभागी विद्यार्थीहरूले विश्वका जटिल समस्या समाधान गर्ने अभ्यास र अनुभव प्राप्त गर्छन्।

यस वर्षको नवोदय MUN मा सातवटा संयुक्त राष्ट्र संघका प्रमुख निकायहरू (WHO, UNSC, UNHRC, UNDP, ILO, UNICEF, UNEP) मा आधारित छलफल हुनेछ। समितिहरूका एजेन्डाहरू किशोर स्वास्थ्य, आणविक निशस्त्रीकरण, द्वन्द्वग्रस्त क्षेत्रमा मानव अधिकार, गरिबी उन्मूलन, बालअधिकार संरक्षण, विकिरण प्रदूषण जस्ता विषयमा केन्द्रित छन्।

कार्यक्रमको दोस्रो दिन ‘सोसल नाइट’ आयोजना गरिनेछ, जसमा सहभागीहरूबीच आपसी चिनजान, मनोरञ्जन र नेटवर्क विस्तारका गतिविधिहरू हुनेछन्। नृत्य, खेलकुद, फोटोबुथ, डिनर र रमाइला प्रस्तुति सोसल नाइटको आकर्षण हुने आयोजकहरूले जनाएका छन्।

नवोदयसँगै मकवानपुरका बाल विद्या सदन र कमाने एकेडेमीका साथै नवलपरासीको आरम्भ एकेडेमी, बुटवलको एपेक्स विद्यालय, रौतहटको नेपाल पुलिस स्कुल, पोखराको लर्नर एकेडेमी र चितवनको इन्टरनेशनल स्कूलले सहभागिता जनाउने निश्चित भएको छ।

महासचिव निकेश श्रीवास्तवका अनुसार, “यस कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, विचार अभिव्यक्ति, सहकार्य, समालोचनात्मक सोच र अन्तर्राष्ट्रिय समझदारीमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।”