हेटौंडा/”स्वच्छ, समृद्ध, सृजनशील, औद्योगिक नगर”को लक्ष्यमा अग्रसर हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडा नं. ११ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडाको रूपमा औपचारिक घोषणा गरिएको छ।
नवलपुर शहरी स्वास्थ्य केन्द्र र हेटौंडा उपमहानगरपालिका वडा नं. ११ को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य वडा अध्यक्ष जुना दाहालले गर्नु भएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, स्वास्थ्यकर्मी, सामाजिक संस्था, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त अवसरमा वडा अध्यक्ष जुना दाहालले पूर्ण खोप सुनिश्चितता प्राप्त गर्नु वडावासीको स्वास्थ्यप्रतिको सचेतता र सबै पक्षको सहकार्यको परिणाम भएको उल्लेख गर्दै भविष्यमा पनि दिगोपनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो।
कार्यक्रममा सहभागी विशेषज्ञहरूले बालबालिकालाई समयमै खोप लगाउनुपर्ने, स्वास्थ्य सेवाको पहुँचलाई अझ सुदृढ बनाउनुपर्ने तथा दिगोपनाका मापदण्डहरू पालना गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।
यो घोषणासँगै वडा नं. ११ हेटौंडा उपमहानगरपालिका अन्तर्गत पूर्ण खोप सुनिश्चितता हासिल गर्ने अग्रणी वडा बनेको छ।
कार्यक्रम समापनसँगै आयोजक संस्थाहरूले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत स्वास्थ्यका क्षेत्रका यस्ता अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।
















