देशभर फैलिँदै डेङ्गु  ७२ जिल्लामा फैलियो संक्रमण, काठमाडौँ सबैभन्दा बढी प्रभावित

Image

हेटौंडा/ पछिल्ला दिनमा बढ्दो गर्मीका साथसाथै डेङ्गु संक्रमणको दर पनि तीव्र गतिमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्याङ्कअनुसार मङ्गलबारसम्म मुलुकभर एक हजार २८१ जनामा डेङ्गु संक्रमण पुष्टि भइसकेको छ ।

महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले चालु वर्षमा संक्रमण ७२ जिल्लामा फैलिएको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी संक्रमित काठमाडौँमा भेटिएका छन् । मनाङ, रसुवा, डोल्पा, हुम्ला र महोत्तरी भने हालसम्म डेङ्गु मुक्त रहेका छन् ।

प्रदेशगत विवरणअनुसार बागमती प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । बागमतीमा ३४३, कोशीमा २४६, गण्डकीमा २३४, लुम्बिनीमा २०७, सुदूरपश्चिममा १७४, कर्णालीमा ६२ र मधेश प्रदेशमा १७ जनामा मात्र संक्रमण पुष्टि भएको छ । डा. झाका अनुसार मधेशमा गर्मी बढी हुने भए पनि रिपोर्टिङ कम भएका कारण संक्रमणको तथ्याङ्क कम देखिएको हुनसक्छ ।

जिल्लागत हिसाबले काठमाडौँमा १३६, कास्कीमा ९२, सुनसरीमा ८७, झापा र पाल्पामा समान ७६, रुपन्देहीमा ४९, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जनामा संक्रमण पुष्टि भएको छ । डा. झाका अनुसार गत वर्षको तुलनामा यस वर्ष संक्रमितको संख्या केही कम छ, तर जोखिम कायमै भएकाले कात्तिकसम्म सतर्क रहन सुझाव दिनुभएको छ ।

डेङ्गु नियन्त्रणका लागि सरकारले स्थानीय तहमा आठ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । महाशाखाले जनचेतना अभिवृद्धि, लामखुट्टेको लार्भा नष्ट गर्ने, तथा निगरानी प्रणाली सुदृढ गर्ने काममा सक्रिय रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डेङ्गु नियन्त्रण सरकारको प्राथमिकतामा परेको बताउँदै, घरघरमै सरसफाइ सुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार हरेक घरमा लामखुट्टे प्रजनन गर्न सक्ने वातावरण हुने भएकाले, पहिला आफ्नै घरबाट लार्भा नष्ट गर्नु अत्यावश्यक छ ।

डा. झाका अनुसार सफा देखिने पानी, गमला, टायर राख्ने स्थान, तथा एयर कन्डिसनजस्ता उपकरण वरिपरि एडिस जातका लामखुट्टे बस्न सक्ने भएकाले यस्ता स्थानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । लामखुट्टेको बासस्थान पहिचान गरी ‘खोज तथा नष्ट गर’ कार्यक्रम पनि सुरु गरिएको जानकारी दिनुभयो ।

पोथी एडिस लामखुट्टेले सफा पानी जमेको ठाउँमा अण्डा दिने भएकाले, टिनका डब्बा, खाली रङका कन्टेनर, थोत्रा टायर, मटितेल वा अलकत्राका ड्रम, फूलदानी, गमला तथा पानी ट्याङ्कीमा ध्यान पुर्‍याउन आवश्यक छ । संक्रमण भएको ४ देखि १० दिनभित्र लक्षण देखिन थाल्छ ।

डेङ्गुका प्रमुख लक्षणहरू:
• एक्कासि उच्च ज्वरो आउने (एक सातासम्म रहन सक्छ)
• टाउको, आँखाको गेडी र पछाडिको भाग दुख्ने
• जोर्नी र मांसपेशी दुख्ने
• शरीरमा रातो बिमिरा देखापर्ने
• वाकवाकी, बान्ता, पेट दुख्ने
• नाक वा गिजाबाट रगत बग्ने, शरीरमा रगत जम्ने
बच्ने उपायहरू:
• लामखुट्टेको टोकाइबाट जोगिनु
• पानी जम्न दिने स्थानहरू हटाउनु
• गमला, फूलदान, खाली कन्टेनर, टायरजस्ता सामग्रीमा पानी जम्न नदिनु
• पानीका भाँडाहरू छोपेर राख्नु
• दिउँसो बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनु
• झुल प्रयोग गर्नु
• बालबालिकालाई सधैं झुलभित्र सुताउनु र लामखुट्टे भगाउने मलम प्रयोग गर्नु