हेटौंडा/ शिक्षा तालिम तथा सामुदायिक सेवा नेपाल (ETSC) हेटौंडा–१५ को सहकार्यमा बकैया गाउँपालिका–६, जुईना खोलामा माछा भुरा हाल्ने कार्यक्रम सम्पन्न भएको छ।
वडा अध्यक्ष फुलमान भोम्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जुईना खोला तथा विभिन्न पोखरीहरूमा माछा भुरा हालिएको हो। कार्यक्रम संयोजक जगदीश अधिकारका अनुसार जुईना खोलामा २०,०००, पोखरीहरूमा ३०,००० र बायो-फ्लक प्रविधिमा २,१०० माछा भुरा राखिएको छ। विगतमा पनि खोलामा ५,००० र पोखरीमा १६,००० भुरा हालिएको थियो।
अध्यक्ष भोम्जनले माझी समुदायको परम्परा, संस्कृति र जीविकोपार्जनको संरक्षणका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताउँदै खोलामा बिस हाल्ने, करेन्ट लगाएर माछा मार्ने जस्ता अवैध क्रियाकलाप रोक्न कानुनी कठोरता अपनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले जुईना खोलाको माछाले अतीतमा दैनिक ६–७ सय घरधुरीको छाक टार्ने भूमिका खेलेको स्मरण गर्दै, परम्परागत माछा पालनलाई पुनर्जीवित गर्दै वडा नं. ६ लाई पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।
संस्थाका संयोजकले पछिल्ला दुई वर्षदेखि यो कार्यक्रम सञ्चालन हुँदै आएको र वडा नं. ६ बाहेक वडा नं. ३, ७, ८ र ९ मा पनि यस्तो कार्यक्रम विस्तार गरिएको जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न जनप्रतिनिधि र स्थानीय अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
















