युवा प्रतिभाको खोजीमा हेटौंडा सिटी कलेज — नेपालमै कलेजस्तरको सबैभन्दा ठूलो ई–स्पोर्ट्स प्रतिस्पर्धा आजबाट सुरु

Image

हेटौंडा/ अनलाइन गेमिङप्रति युवा पुस्ताको आकर्षणलाई संस्थागत प्रतियोगितामार्फत सही दिशा दिन हेटौंडामा दोस्रो संस्करणको ‘ई–स्पोर्ट्स एरिना’ प्रतियोगिता आजदेखि सुरु भएको छ । हेटौंडा सिटी कलेज (जेनिथ ) इन्टरनेशनल विद्यालयको आयोजनामा हुने प्रतियोगिताले डिजिटल खेलकुद क्षेत्रमा रुचि राख्ने युवाहरूमाझ प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने लक्ष्य लिएको छ ।

पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले सहभागी हुनका लागि कम्तीमा १६ वर्ष उमेर पूरा गरेको र एसईई परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने जानकारी दिए । प्रतियोगिता तीन विधामा— फ्री फायर, पब्जी र ई–फुटबल— सञ्चालन हुने बताइएको छ ।

फ्री फायरमा ३६, पब्जीमा १२ र ई–फुटबलमा ४० स्लट रहने छन् । प्रत्येक टिममा एक जना ब्याकअपसहित ५ खेलाडी रहने व्यवस्था गरिएको छ । प्रतियोगितामा झण्डै ४८ टोलीका करिब २८० जना खेलाडी सहभागी हुने अनुमान गरिएको छ ।

विद्यालयका प्रशासन प्रमुख सुमन्त सिलवालका अनुसार कलेज तहबाट यस्तो किसिमको पुरस्कार राशिसहितको ई–स्पोर्ट्स प्रतियोगिता मकवानपुर जिल्लामा पहिलोपटक आयोजना गरिएको हो । उनले कुल ५० हजार रुपैयाँ राशिको प्रतियोगितालाई नेपालमै कलेजस्तरको सबैभन्दा ठूलो ई–स्पोर्ट्स इभेन्टको रूपमा उल्लेख गरे ।

पुरस्कार विवरण यस्तो छ
• फ्री फायर:
• प्रथम: रु. ११,०००
• दोस्रो: रु. ५,५००
• तेस्रो: रु. २,५००
• उत्कृष्ट खेलाडी तथा फ्यान फेभरेट टिम: जनही रु. २,०००
• पब्जी:
• प्रथम: रु. ८,५००
• दोस्रो: रु. ४,०००
• तेस्रो: रु. २,०००
• उत्कृष्ट खेलाडी: रु. १,५००
• ई–फुटबल:
• प्रथम: रु. ४,०००
• दोस्रो: रु. २,५००
• तेस्रो: रु. १,५००
• टप गोलकर्ता: रु. १,०००
सिलवालका अनुसार युवाहरूलाई सिर्जनशीलता, रणनीति र प्रविधिमा आधारित सीप विकास गर्न प्रेरित गर्न प्रतियोगिता सन्देशमूलक र प्रेरणादायी बन्नेछ ।
प्रतियोगिताको फाइनल खेल साउन ८ गते सम्पन्न हुनेछ ।