हेटौंडा / बागमती प्रदेशको औद्योगिक, व्यापारिक, स्वास्थ्य तथा कृषि क्षेत्रको कानुनी संरचना थप मजबुत पार्ने उद्देश्यसहित प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले चार वटा महत्वपूर्ण विधेयकहरूमा प्रमाणीकरण गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयबाट सोमबार जारी विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम तीनवटा र उपधारा (४) बमोजिम एकवटा विधेयक प्रमाणीकरण गरिएको हो।
प्रमाणीकरण गरिएका विधेयकहरूमा:
१. प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
२. प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
३. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
४. प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सर्पिकोटाका अनुसार, “यी विधेयकहरूले प्रदेशको समग्र विकासमा कानुनी स्पष्टता र सहजीकरण गर्दै नीति निर्माणमा थप स्पष्टता ल्याउने विश्वास गरिएको छ।”
















