बैतडीमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न प्रशासनको आग्रह

Image
oppo_0

बैतडी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय बैतडीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार निर्वाचन अवधिसँगै महाशिवरात्री, फागू (होली) जस्ता चाडपर्वहरू पनि परेकाले यस्ता पर्वहरू अनुशासित र मर्यादित ढंगले मनाउन अनुरोध गरिएको छ ।

प्रशासनले सार्वजनिक गरेको अनुरोधपत्रमा आचारसंहिता उल्लंघन नगर्न, र उल्लंघन भएको देखिएमा आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृतको कार्यालय तथा नजिकको सुरक्षा निकायमा जानकारी दिन आग्रह गरिएको छ ।

त्यस्तै, मेला–जात्रा तथा भीडभाड हुने कार्यक्रम आयोजना गर्दा स्थानीय प्रशासनको अनुमति अनिवार्य हुने उल्लेख गरिएको छ । पर्वका नाममा जबरजस्ती गतिविधि नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न तथा डिजे बजाएर अशान्ति फैलाउने कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।

फागू पर्वको समयमा कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, फोहोर छ्याप्ने जस्ता व्यवहार नगर्न पनि प्रशासनले सचेत गराएको छ । सुरक्षाकर्मी तथा कर्मचारीलाई काममा बाधा पुर्‍याउने कार्य गरे कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा यसपटक ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।