काठमाडौं । सन्दीप लामिछानेले ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न भिसा नपाएको विषयमा संसद् बैठकमा प्रश्न गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले उक्त विषय उठाएका हुन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्र नीति वाचन गर्दै उनले सन्दीपले भिसा नपाउनु सिंगो देशमाथिको अपमान भएको टिप्पणी गरे ।प्रतिनिधि सभाको विशेष समयामा बोल्दै सांसद शाहीले जुन देशले विश्वकप क्रिकेटको आयोजना गरेको छ उही देशले भिसा नदिएको विषयमा परराष्ट्र नीति के हो भन्दै प्रश्न गरेका छन् ।
‘विश्वले रुचाएको र विश्वका ठूल्ठूला खेलाडीलाई पछारेको सन्दीप लामिछानेको भिसा लाग्दैन । यसबारे सम्पूर्ण संसद् मौन देख्छु । संसारमा नेपाललाई कसैले चिनाउँछ भने कि त खेलाडीले हो की त कलाकारले, हो नेताले होइन । सन्दीपले भिसा नपाउनु भनेको उनी र सम्पूर्ण नेपालीको मात्र अपमान होइन यो त सिङ्गो देशमाथि भएको अपमान हो’, उनले भने ।
उनले पञ्चशीलको सिद्धान्तविपरीत अमेरिकाले आन्तरिक मामलामा चासो दिएको पनि उल्लेख गरे। उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गरेको अवस्थामा अमेरिकाले सन्दीपलाई भिसा अस्वीकृत गर्नु पञ्चशीलको सिद्धान्तविपरीत हुने बताए।
‘जुन देशले विश्वकप आयोजना गर्छ त्यही देशले हाम्रो खेलाडीलाई अगाडि जान दिँदैन। आज हामीले के का आधारमा परराष्ट्र नीति बनाएका छौँ। परराष्ट्र नीति पञ्चशीलका आधारमा बनाएको हो की पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा’, उनले भने ।














