झ्याप्ले खोलामा बिलायो आमासँगै जुम्ल्याहा दाजुबहिनीको बंगलादेश जाने सपना

Image

काठमाडौं । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका दिपेश भट्टराई (१५ वर्ष) र दीपिका भट्टराई (१५ वर्ष) जुम्ल्याहा दाजु–बहिनी थिए। अहिले कक्षा १० मा अध्ययनरत उनीहरूको सपना एकअर्कालाई साथ दिँदै ठुला अवसरहरू समात्ने थियो।

गल्याङ नगरपालिका–३, स्याङ्जाका उनीहरु बुटवल बसेर पढ्दै आएका थिए। विद्यालयमा सधैँ उत्कृष्ट नतिजा ल्याउने यी दाजु–बहिनी नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा पहिलो चरणमा छनोट भइसकेका थिए।

दोस्रो चरणको लागि उनीहरू बंगलादेश पुग्नुपर्ने थियो। बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरूलाई ३२ राष्ट्रका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो, जुन उनीहरूको जीवनकै महत्त्वपूर्ण क्षण बन्ने थियो।

शुक्रबार उनीहरू आफ्नो सपना पूरा गर्न काठमाडौंतिर हिँडे। बुटवलबाट छुटेको माइक्रोबस (लु १ ज ४५७८) मा टिकट लिई दिपेश, दीपिका, र आमा सीता भट्टराईले यात्रा थालेका थिए।

उनीहरूको यात्रा काठमाडौंका हुँदै बंगलादेशसम्मको थियो। तर, यो यात्रा कहिल्यै पूरा भएन। झ्याप्ले खोलामै विलाए उनीहरुका सपना। काठमाडौं पुग्न दुई–तीन किलोमिटर मात्र बाँकी थियो, धादिङको झ्याप्ले खोलामा पहिरोले माइक्रोलाई पुरिदियो। यो त्रासदीले न केवल उनीहरूको जीवन, तर भविष्यका सारा सम्भावना पनि सँगै पुरेर लग्यो।

गाडीमा रहेका दिपेश–दीपिकासहित ९ जनाको ज्यान गयो। यो समाचार तयार पर्दासम्म अरू गाडीसहित त्यहाँ पुरिएका ३५ भन्दा बढीको शव निकालिएको छ।

दिपेश–दीपिकाका बाबु होमनाथ भट्टराई कोरियामा काम गर्दै छन्। शुक्रबार बिहान श्रीमती सीता र छोराछोरीसँग उनको कुरा भएको थियो।

उनीहरू बङ्गलादेशको सम्मेलनका लागि निकै उत्साहित थिए, तर होमनाथलाई कल्पना थिएन कि आफ्नो परिवार सधैँको लागि गुमाएको खबर सुन्नुपर्छ। कामबाट फर्किँदै गर्दा उनले यो हृदयविदारक समाचार सुने। परिवारका सबै सदस्यको जीवन एकै साथ पहिरोमा विलायो।

अब होमनाथ कोरियाबाट फर्किएपनि स्वागतमा उत्साहित अनुहार होइन, शोकमा डुबेको आफन्त र छरछिमेकको भीड मात्रै हुनेछ।

होमनाथका १५ वर्षका छोराछोरी दिपेश र दीपिकाले बुटवलको कालिका माविमा भविष्य निर्माणको यात्रा थालेका थिए। उनीहरूको लक्ष्य थियो एसईईमा उत्कृष्ट प्रदर्शन गरेर उच्च शिक्षातर्फ अग्रसर हुने।

विद्यालयका प्रचार्य दिनेश थापाका अनुसार, दिपेश र दीपिका आउँदो एसईईमा ४ जीपीए ल्याउने मुख्य दाबेदार विद्यार्थी थिए। उनी भन्छन्, ‘विद्यालयले उनीहरूको प्रगतिको लागि सिफारिससहित छुट्टी दिएको थियो। तर, उनीहरू कहिल्यै फर्केर नआउने भए।’