काठमाडौं । सरकारले अब ड्राइभिङ लाइसेन्स कार्ड बोक्न अनिवार्य नगर्ने व्यवस्था गरेको छ । नागरिक एपमा उपलब्ध कार्ड प्रयोग गरेर सवारी साधन चलाउन सकिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, ट्रायल पास गरेका व्यक्तिको लाइसेन्स नागरिक एपमा उपलब्ध हुने र कार्ड बोक्न आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् ।
नागरिक एपमा क्यूआर कोडसहितको कार्ड उपलब्ध हुनेछ । सवारी नियम उल्लंघन भएमा पनि नागरिक एपमा रहेको लाइसेन्स देखाएर काम चलाउन सकिन्छ । साथै, जरिवाना तिर्न डिजिटल भुक्तानीको सुविधा पनि राखिएको छ ।
यातायात व्यवस्था विभागले लामो समयदेखि लाइसेन्स कार्ड छाप्न नसक्दा लाखौं मानिसले कार्ड प्राप्त गर्न सकेका थिएनन् । यस समस्याको समाधानका लागि सरकारले डिजिटल माध्यमबाट सेवा दिन थालेको हो । बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट भोलिदेखि डिजिटल भुक्तानी सुविधा परीक्षण गरिने बताइएको छ ।