लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले दियो मध्यम लक्ष्य

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ सय ३७ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रनको योगफल तयार पारेको छ।

जनकपुर बोल्ट्सका लागि कप्तान अनिलकुमार साहले ४५ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान अनिलले ३९ बलको सामना गरी चार छक्का र एक चौका पनि हिर्काए । अनिल केवल पाँच रनका कारण जारी एनपीएलमा व्यक्तिगत रूपमा दोस्रो अर्धशतक बनाउनबाट चुकेका थिए । उनलाई १२औँ ओभरको तेस्रो बलमा लुम्बिनी लायन्सका बलर सन्दीप जोराले विवेक यादवद्वारा क्याच गराए ।

अनिल र आसिफ शेखले ओपनिङ विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । टोलीको मार्की खेलाडीसमेत रहेका आसिफ शेखले १६ रन बनाए । उनले केवल १० बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान लाहिरु मिलनथाले पनि टोलीको खातामा २४ रन थपे । उनले २३ बलमा दुई चौका प्रहार गरे । लाहिरु मिलनथा र अनिलले टोलीको स्कोरलाई ९५ रनको स्थितिसम्म पुर्‍याएका थिए ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका शुभ कंसाकारले टोलीको खातामा अविजित २२ रन थपे । उनले २४ बलको सामना गरी दुई छक्का हिर्काए । टोलीको स्कोरलाई सम्मानजक स्थितिसम्म पुर्‍याउन शुभको योगदान महत्त्वपूर्ण रह्यो ।

हर्ष थाकेर र जेम्स निसाम भने एक–एक रन बनाउँदै पभेलियन फर्किए । मोहम्मद मोहसिन पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । शेल मल्लले त खातासम्म खोल्न सकेनन् । नवौँ नम्बरका ब्याट्सम्यान हेमन्त धामीले ११ बलमा एक चौकाको मद्दतले नौ रन बटुले । जनकपुर बोल्ट्सले अतिरिक्त रूपमा १५ रन पायो ।

लुम्बिनी लायन्सका बलर अभिषेक गौतमले तीन विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिएका थिए । कप्तान रोहितकुमार पौडेलले पनि दुई विकेट हात पारे । उनले चार ओभरमा २२ रन खर्चिए । साद बिन जाफरले पनि दुई विकेट लिए । उनले तीन ओभरमा ११ रन खर्चिए । सन्दीप जोराले एक विकेट लिए ।

जारी एनपीएलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स दुवै टोलीले आफ्नो चौथो खेल खेलिरहेका हुन् । जनकपुर बोल्ट्स यसअघि आफूले खेलेको तीनवटै खेलमा विजयी भएको छ । जनकपुर बोल्ट्सले आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो ।

जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो । लुम्बिनी लायन्स भने यसअघि आफूले खेलेको तीनवटै खेलमा पराजित भएको थियो ।

लुम्बिनी लायन्स आफ्नो पहिलो खेलमा विराटनगर किङ्ससँग दुई विकेटले पराजित भएको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्सलाई पोखरा एभेन्जर्सले १० विकेटले हराएको थियो । लुम्बिनी लायन्स आफ्नो तेस्रो खेलमा भने सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।

जारी एनपीएलमा हालसम्म तीन खेल खेलेको सुदूरपश्चिम रोयल्स ६ अङ्कसहित पहिलो, तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अङ्कसहित दोस्रो, तीन खेल खेलेको चितवन राइनोज चार अङ्कसहित तेस्रो र चार खेल खेलेको कर्णाली याक्स चार अङ्कसहित चौथो स्थानमा छन् ।

यसैगरी, तीन खेल खेलेको पोखरा एभेन्जर्स दुई अङ्कसहित तालिकाको पाँचौँ, तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ, चार खेल खेलेको विराटनगर किङ्स दुई अङ्कसहित सातौँ र तीन खेल खेलेको लुम्बिनी लायन्स शून्य अङ्कसहित आठौँ स्थानमा आसीन छन् ।