हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा स्थानीय विकासको नयाँ आयाम थप्ने उद्देश्यसहित पनेश खेल मैदानको शिलान्यास गरिएको छ। समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउने उद्देश्यका साथ जनताको मागलाई प्राथमिकता दिँदै खेल मैदान निर्माण थालिएको हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा अध्यक्ष सुनिल मुक्तानले बताउनुभयो।
सिलान्यास कार्यक्रम हेटौंडा-१५ का वडा अध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यतामा तथा वडा सदस्यहरू पातली माया गोङ्बा, सिंह बहादुर लो र मिनु विश्वकर्माको विशेष उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो।
वडा अध्यक्ष मुक्तानले स्थानीय विकासलाई द्रुत गतिमा अघि बढाउन खेलकुद क्षेत्रको प्रवर्द्धन आवश्यक रहेको बताउँदै ‘खेलकुदले युवा पुस्तालाई अनुशासित, स्वस्थ , सिर्जनशील बनाउने भएकाले स्थानीय सरकार खेल पूर्वाधार विकासमा केन्द्रित छ,’ उहाले भन्नु भयो।
स्थानीयवासीहरू समेत उपस्थित रहेको उक्त कार्यक्रममा सहभागीहरूले खेल मैदान निर्माणपछि खेल गतिविधि बढ्ने र युवा पुस्ताले लाभ पाउने विश्वास व्यक्त गरेका छन्।
हेटौंडा-१५ मा निर्माण हुन लागेको यो खेल मैदानले विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गर्न टेवा पुर्याउने विश्वास गरिएको छ। यस्तै कार्यक्रममा बिभिन्न टोल बिकास संथाका अध्यक्ष,समाजसेवी लगायतको उपस्थिति रहेको थियो।















