सुनसरीमा २ समूहबीच झडप, ६ राउण्ड गोली चल्यो

Image

विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ ।

दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको बताए ।

उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

स्थानीयका अनुसार दुई समूहको झडपको कारण भने भारतमा राममन्दीर प्रतिस्थापन गर्दा राखिएको रामनामको झण्डा फालेको र मुस्लिम धर्मग्रन्थ कुरानको अपमान गरेको विषय हो । सोही विषयमा स्थानीय जीवन मेहतालाई बिहीबार एउटा समूहले निर्घात कुटपिट गरेको थियो ।

एसईई परीक्षा दिन गएकी आफ्नी बहिनीलाई लिन जादा बाटो छेकेर मेहतामाथि सडकमा घिसार्दै निर्घात कुटपिट गरेका थिए । सोही घटनालाई लिएर शुक्रबार बाट हिन्दु मुस्लिम समुदायबीच विवाद भएको थियो ।

लाठीमुङ्गीसहित सडकमा निस्कीएको समूहबीच झडप भएपछि प्रहरीले दुवै समूहलाई तितरवितर पारेको थियो । स्थीति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हनिगर गाउँपालिकाका सबै वडा र देवानगञ्ज गाउँपालिका– १ र ७ नम्बर वडामा निषेधादेश जारी गरेको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले अनिश्चितकालका लागि निषेधादेश जारी गरेका हुन् ।

यो पनि : सुनसरीमा दुवै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुदै