Khabar Board

सर्वोच्चमा दर्ता भएन सिरोहियाले दिएको रिट, बुधबार अध्ययन गरिने

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध जारी भएको पक्राउ पुर्जीविरूद्धको रिट सर्वोच्च अदालतले दर्ता गरेको छैन। जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी बदर गरी पाऊँ भन्‍दै दिएको रिट मंगलबार दर्ता नभएको हो।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले मंगलबार दर्ता नभएको र बुधबार यसबारे थप अध्ययन गरिने बताए। ‘आज दर्ता भएन। भोलि हेरिन्छ,’ उनले भने।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले मंगलबार उनीविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका थिए। सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पुर्जी माग गरेको थियो।

यसअघि सिरोहियाले आफूविरूद्ध धनुषा प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रतिषेधको आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ।

सिरोहियाले यसरी नागरिकताको विषयमा जाहेरी परेपछि राज्यले २०३३/२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको भन्दै विज्ञप्ति जारी गरेका थिए। त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.