काठमाडौँ । ललितपुरको हात्तीवनमा सडक भासिँदा एक यात्रुवाहक बसको आधा भाग खाल्टोमा छिरेको छ । बा २ ख ६८४८ नम्बरको बसको पछाडिको भाग सडकमा बनेको खाल्डोमा फसेको हो ।
शनिवार दिउँसो बस गुडिरहेका बेला सडकमा प्वाल परेपछि बसको आधा भाग अचानक खाल्टोमा फसेको हो । निरन्तर परेको पानीका कारण सडक कमजोर बनेपछि सडक भासिएको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी तथा प्रवक्ता नरहरि रेग्मीले बताए अनुसार, बसको पछाडिको भाग खाल्डोमा परेको भए पनि कुनै मानवीय क्षति भने भएको छैन ।
लगातारको वर्षाले गर्दा सडकमा भ्वाङ पर्नु बस भासिनुको कारण बनेको हो । यसबीच ललितपुरमा बाढी पहिरोका कारण हालसम्म १८ जनाको ज्यान गएको छ भने १५ जना बेपत्ता भएका छन् ।

















