काठमाडौँ । आज फेरि सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। प्रतितोला एक हजार चारसय रुपैयाँ बढेर सुनको मूल्यले आज अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो।
सुनको मूल्य आज प्रतितोला एक लाख ७६ हजार दुईसय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो। यसअघि यही चैत ६ गते सुनको मूल्य एक लाख ७६ हजार रुपयाँ पुगेर घटेको थियो।
हिजो (मंगलबार) बढेको सुनचाँदीकै मूल्य आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य प्रतितोला एक हजार तीनसय रुपैयाँ बढेर एकलाख ७४ हजार आठसय रुपैयाँ पुगेको थियो।
गएको बुधबार पनि सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँ बढेको थियो। गत साताको शुक्रबारदेखि मंगलबारसम्म सुनको मूल्य लगातार घटेको थियो। त्यसयताका तीन दिन भने लगातार सुनको मूल्य बढिरहेको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज तोलाको दुई हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको थियो।