रुपुम ।
पुर्वी रुकुम जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १, २ र ३ नम्बर वडाका शिक्षक र अधिकांश विद्यार्थी यार्सा संकलनको लागि गएपछि तीन हप्ता देखि विद्यालय बन्द रहेका छन् । शिक्षक र विद्यार्थीहरु नै यार्चा टिप्न बुकीपाटन गएपछि विद्यालयहरु बन्द रहेका हुन्।
शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमका अनुसार विद्यार्थीहरु नै नआउने भएपछि शिक्षकहरु पनि यार्सा संकलनमा जाने गरेको बताउनुभयो ।
पुथाउत्तरगंगा गाउँपालिका १ मा रहेको पुथा हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तिमान पुनले यार्सा सिजन सुरु भएसँगै जेठको ७ गतेबाट विद्यालय बन्द भएको बताउनुभयो । उहाका अनुसार यस क्षेत्रमा यार्सा सिजन सुरु हुने बित्तिकै विद्यालयमा विद्यार्थीको उपस्थिती नहुने र विद्यार्थीहरुको अनुपस्थिथिका कारण विद्यालय बन्द हुने भएसि शिक्षकहरु पनि यार्सा संकलनको लागि पाटन जाने गरेको बताए।
रन्मा, मैकोट, पेल्मा क्षेत्रका विद्यालयमा वर्षे बिदालाई कटाएर यार्सा सिजनमा मिलान गर्ने गरिएको छ । यश क्षेत्रमा यार्सा संकलनको लागि विद्यालय बन्द हुने र फेरी बर्षे बिदा गर्दा कोर्स पुरा नहुने भन्दै बर्षे बिदालाई कटाएर यार्सा सिजनमा बिदा दिने गरिएको बताइएको छ।
प्र.अ. हस्तिमान पुनका अनुसार जिल्लाको माथील्लो क्षेत्रका नागरिकहरुको मुख्य रोजीरोटीको पेशा भनेकै यार्सा संकलन र बिक्रिवितरण हो । एक सिजनमा यार्सा संकलन गरेर वर्षभरीको खर्च धान्ने समुदाय भएकाले विद्यालय नै बन्द गरेर भएपनि शिक्षक विद्यार्थी यार्सा संकलन गर्न जाने गरेको मैकोटका विकास पुनले बताउनुभयो । अहिले माथिल्लो क्षेत्रका बस्तिमा विद्यालय मात्र बन्द होइन गाउँ नै सुनसान हुने गरेको छ । यार्सा संकलनको लागि सबै पाटन उक्लिएपछि गाउँ नै सुनसान भएको बताए।
यार्सा सिजनको लागि बन्द भएका गाउँपलिकाका तीन वडाका बिद्यालय अब केहि दिनमै खुल्नेछन् । मैकोट क्षेत्रका विद्यालयहरु असार २ गतेबाट खोल्ने तयारी गरिएको छ । विगतका वर्षहरुमा जेठ पहिलो साताबाट बन्द भएका विद्यालय असार १० मा मात्र खुल्ने गरेका थिए ।
यस वर्ष यार्सा कम भएको कारण विद्यार्थीहरु अलि छिटो गाउँ फर्कने क्रम चलिरहेको कारण छिटै विद्यालय खुल्ने बताईएको छ । पुथा उत्तरगंगा गाउँपालिकाको पुपाल लेक, पूर्वाङ, फुलबारी, दङ्ला, पानीदाल, अरगिजा लगाएतको क्षेत्रमा मानिसहरु यार्सा टिप्न जाने गरेका छन् ।