धनगढी ।
चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ। ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले आज (शुक्रबार) उक्त गीत सार्वजनिक गरेका हुन्। सो गीतको भिडिओमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबिले पनि अभिनय गरेकी छन्। पबिसँगै रोसन केसी पनि अभिनयमा देखिएका छन्।
जुम्ला पुगेरै छायाँकन गरिएको गीतका शब्द गिरीले अमन निलसागरसँग मिलेर कोरेका हुन्। गीतमा संगीत एवं संगीत संयोजन गायक गिरीकै छ। डडेल्धुराकी २३ वर्षीया पवित्रा साँकी टिकटकमा ‘मिस पबि’का नामले चर्चित छन्। टिकटकमा करीब ९ लाख फ्लोअर्स कमाएकी उनले चुनावअगाडि प्रधानमन्त्री शेरबहादुरविरुद्ध उम्मेद्वारी दिएका सागर ढकालको पक्षमा खुलेर टिकटकबाट भोट मागेकी थिइन्। त्यसले उनको चर्चामा थप मलजल पुगेको थियो।
स्थानीय भाषामा बोलेर उनले बनाउँदै आएका टिकटक भिडिओलाई दर्शकले निकै रुचाइँदै आएका छन्। उनै ‘मिस पबि’ले यसपटक चर्चित गायकको गीतमा अभिनयको मौका पाएकी हुन्। उनले यसअघि पनि केही म्युजिक भिडिओमा अभिनय गरेकी थिइन्। यद्यपी, ति म्युजिक भिडिओहरुले खासै चर्चा भने पाएका थिएनन्। अहिले गायक गिरीसँग काम गर्न पाएर खुसी लागेकीको उनले बताएकी छन्।
