Khabar Board

अल्लुको जन्मदिनमा पुष्पा २ को टिजर : केही घण्टामै एक करोड भ्यूज

हैदराबाद । बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ : द रुल’ को टिजर सार्वजनिक भएको छ । टिजरमा पुष्पा साडी लगाएर शत्रुसँग लड्दै फरक अवतारमा देखिएका छन् । यो टिजर युट्युबमा ५ घण्टामा १ करोड मानिसले हेरिसकेका छन् ।

साउथ सुपरस्टार अल्लु अर्जुनको ४२ औँ जन्मदिनको अवसरमा ८ अप्रिलमा निर्माण पक्षले यो टिजर सार्वजनिक गरेको हो । यो फिल्म यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदैछ । सुकुमारद्वारा निर्देशित यो फिल्म डिसेम्बर २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’ को दोस्रो भाग हो।

१ मिनेट ८ सेकेण्डको यो टिजरमा पुष्पाको फरक अवतार देख्न पाइन्छ । टिजरको सुरुमा उनी माँ कालीको पूजा पण्डलमा काजल लगाएर, झुम्का लगाएर र घुँगरु बाँधेको देखिएका छन् ।

यसपछि उनी आफ्नो हातमा त्रिशूल हल्लाउँछन् र शत्रुको छातीमा चढ्छन्। अन्तमा उनी शत्रुसँग लडिरहेको देखिन्छ ।

यसैबिच, सामाजिक सञ्जालमा फिल्मको टिजर सेयर गर्दै अल्लु अर्जुनले आफ्ना फ्यानहरूलाई धन्यवाद दिएका छन् । अभिनेताले लेखेका छन्, ‘मेरो जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद । मेरो हृदय कृतज्ञताले भरिएको छ। कृपया यो टिजरलाई मेरो धन्यवादको रूपमा स्वीकार गर्नुहोस्।’

‘पुष्पा २: द रुल’ अगस्ट १५, २०२४ मा विश्वभरका थिएटरमा रिलिज हुने तय भएको छ । यो भारतमा ५ भाषामा रिलिज हुनेछ । सुकुमारद्वारा निर्देशित र मिथ्री मुभि मेकर्सद्वारा निर्मित यस फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फासिल मुख्य भूमिकामा छन्।

२०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बन्यो। सबै संस्करणहरू सहित, यो फिल्मले भारतमा ३१३ करोड भारु र विश्वव्यापी रूपमा ३५० करोड भारुको व्यापार गर्‍यो। सबैभन्दा धेरै कमाउने तेलुगु फिल्मको सूचीमा यो छैटौँ नम्बरमा छ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.