हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा उपमहानगरपालिकाको अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनबाट निर्वाचित सभापति, उपसभापति, सचिव, सहसचिव लगायत सम्पूर्ण कार्यसमितिका सदस्यहरूलाई सेवा सहयोग आवाज हामीका अध्यक्ष बिशाल राज महतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष बिशाल राज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत नव निर्वाचित कार्यसमितिलाई जिम्मेवार र जनउत्तरदायी राजनीति गर्न आग्रह गरेका छन्। महतले राजनीतिलाई केवल पद प्राप्त गर्ने माध्यम नभई जनताको भरोसा, जिम्मेवारी र उत्तरदायित्व बोकेको पवित्र दायित्व भएको उल्लेख गरेका छन्। उनले जनताले दिएको विश्वासलाई शक्ति प्रदर्शन, दम्भ, घमण्ड तथा व्यक्तिगत लाभको साधन नबनाउन चेतावनी दिएका छन्।
“पद क्षणिक हो, तर जनताले बनाएको सम्मान र इतिहास दीर्घकालसम्म बाँच्छ,” उनले लेखेका छन्। उनले सत्ता र पदले मानिसको वास्तविक चरित्र देखाउने उल्लेख गर्दै जनताको आवाज सुन्ने, दुःख बुझ्ने, न्यायको पक्षमा उभिने र गलतविरुद्ध बोल्ने साहस नै वास्तविक नेतृत्व भएको बताएका छन्। अन्यथा जनताको नजरबाट खस्न समय नलाग्ने उनको भनाइ छ।
महतले सकारात्मक काम, पारदर्शिता र जनपक्षीय भूमिकामा आफूहरूको सधैं सहयोग र समर्थन रहने उल्लेख गरेका छन्। तर जनताको विश्वासमाथि खेल्ने, जिम्मेवारी बिर्सिने वा दम्भ देखाउने प्रवृत्तिप्रति खबरदारी पनि उत्तिकै कडा हुने चेतावनी दिएका छन्।
उनले “राजनीति सेवा हो, शासन होइन” भन्ने भावसहित विगतका गलत अभ्यास नदोहोर्याउन नव निर्वाचित कार्यसमितिलाई आग्रह गरेका छन्।













